International फिफा क्लब विश्वकपः इन्टर मिलान र डर्टमुन्डको जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा क्लब विश्वकपतर्फ इटालियन महारथी इन्टर मिलान र जर्मन क्लब बोरुसिया डर्टमुन्डले आ–आफ्नो समूहमा पहिलो जित हात पारेका छन् ।

समूह ई मा रहेको इन्टरले आफ्नो दोस्रो खेलमा उरावा रेड डायमन्डसमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । खेलको ११औं मिनटमा र्योमा वातानाबेले उरावाका लागि शुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलमा इन्टरले रोमाञ्चक पूनःरागमन गर्यो । ७८औं मिनटमा कप्तान लौतारो मार्टिनेजले इन्टरका लागि बराबरी गोल फर्काए भने इन्जुरी समयमा भ्यालेन्टिन कार्बोनीले दोस्रो गोल गर्दै इन्टरको जित पक्का गरे ।

समूह ई कै अर्को खेलमा रिभर प्लेट र मोन्टेरेले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि समान ४–४ अंक जोडेको रिभर प्लेट र इन्टर क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने मोन्टेरे २ अंकका साथ तेस्रो स्थानमा छ । अंकविहीन उरावा रेड पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलहरुमा २५ जुनका दिन इन्टर मिलानले रिभर प्लेटसँग खेल्नेछ भने सोही दिन उरावा रेडले मोन्टेरेको सामना गर्नेछ । यही दुई खेलबाट नकआउट चरणमा प्रवेश गर्ने अन्तिम दुई टोलीको टुंगो लाग्नेछ । जुन होडमा इन्टर, रिभर प्लेट र मोन्टेरे कायम छन् ।

त्यस्तै समूह एफतर्फ बोरुसिया डर्टमुन्डले मेमलोडी सनडाउन्सलाई ४–३ ले हराउँदै आफ्नो पहिलो जित दर्ता गर्यो । सोही समूहको अर्को खेलमा फ्लुमिनेन्जले उल्सान एफसलाई ४–२ ले पराजित गर्यो ।

यो नतिजापछि समूह एफमा समान ४–४ अंक जोडेका फ्लुमिनैन्ज र डर्टमुन्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने ३ अंकका साथ मेमलोडी सनडाउन्स तेस्रो स्थानमा छ । अंकविहीन उल्सान पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।

समूह एफबाट नकआउट चरणमा प्रवेश गर्न फ्लुमिनेन्जसँगै डर्टमुन्ड र सनडाउन्सको सम्भावना पनि कायम छ । समूह चरणको अन्तिम खेलमा डर्टमुन्डले उल्सानको सामना गर्नेछ भने सोही दिन फ्लुमिनेन्जले सनडाउन्ससँग खेल्नेछ । यी दुई खेलको नतिजापछि समूह एफबाट नकआउट चरणमा प्रवेश गर्ने दुई टोलीहरुको टुंगो लाग्नेछ ।

 

Post Comments