Province 2 गोलबजार स्पोर्टस उपाधि नजिक
गोलनेपाल

गोलबजार । घरेलु टोली गोलबजार स्पोर्टस क्लब, गोलबजार, सिरहा यहाँ जारी आठौं गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलतर्फ गोलबजारले चात्या सा पुस्तकालय, दमक, झापालाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

गोलबजार एकिकृत खेलग्राममा भएको निर्धारित समयको खेलतर्फ विपक्षीको प्रहार क्लियर गर्ने विपनले आत्मघाती गोल गरेपछि खेलमा चात्या साले शुरुवाती अग्रता बनाएको थियो । यद्यपि गोलबजारका लागि युवराज खड्काले रोमाञ्चक बराबरी गोल फर्काएका थिए । अन्ततः टाईब्रेकरमा भने गोलबजारले चात्या सामाथि ४–३ को जित निकाल्दै फाइनल यात्रा पक्का गर्यो ।

प्रतियोगिता अन्तर्गत चैत्र २० गते बुधबारको दोस्रो सेमिफाइनल खेल सलहेश युवा क्लब, सिरहा र रोमन फुटबल क्लब, सर्लाहीबीच हुने आयोजकले जानकारी दियो ।

गोलबजार नगरपालिका, सिरहाको आयोजना जारी प्रतियोगिताको विजेताले उपाधिहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।

Post Comments