News स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कप शुरु, टिकुलीगढको विजयी शुरुवात
सुरज राना मगर

बभनी । मंगलबारदेखि रुपन्देहीको तिलोत्तमा नगरमा शुरु भएको स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कप खुला नकआउट फुटबल प्रतियोगितामा नव टिकुलीगढ युवा क्लबले विजयी शुरुवात गरेको छ ।

तिलोत्तमा–१३, बभनी स्थित बभनी भूपू सैनिक आधारभुत विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा नव टिकुलीगढले एमबी ब्रदर्श एफसीलाई टाईब्रेकरमा हरायो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ नव टिकुलीगढका लागि अनुप बुढाले गोल गरे भने एमबी ब्रदर्शका लागि बलराम न्यौपानेले गोल गरेका थिए । टाईब्रेकरमा भने नव टिकुलीगढले एमबी ब्रदर्शमाथि २–१ को जित निकाल्न सफल भयो ।

खेलमा नव टिकुलीगढका गोलरक्षक दिशान्त दर्लामी म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै नव टिकुलीगढ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन २८ गते बुधबारको खेल दुर्गानगर एफसी र शिवपुर एफसीबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १३ का वार्ड अध्यक्ष नारायण ढकालले गरेका थिए । सो अवसरमा आयोजक न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनीका अध्यक्ष बिकास भण्डारी लगायतको पनि उपस्थिति रहेको थियो ।

आउँदो चैत्र ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments