
देवदह । रुपन्देहीमा पनि फुटबलले विस्तारै गति लिएसँगै एक पछि अर्को फुटबल प्रतियोगिता आयोजना हुने क्रममा छन् । यसै क्रममा देवदह–१२ प्रगतिनगरमा तेस्रो मैत्री कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
यहि मंसिर २३ गते बिहीबारदेखि शुरु हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक मैत्री युवा क्लबले जनाएको छ । देवदह–१२ प्रगतिनगर स्थित प्रगति माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक कमिटीका पूर्ण बहादुर गुरुङले जानकारी दिए । पछिल्ला वर्षहरुमा पनि सफलताका साथ प्रतियोगिता सम्पन्न गरेको संस्मरण गर्दै गुरुङले यस बर्ष पनि प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने बताए ।
युवा र स्थानीय खेलाडीहरुलाई फुटबलमा लागेर गलत बाटोमा हिंड्नबाट सचेत बनाउने आफूहरुको उद्देश्य रहेको आयोजकले बताएको छ । साथै प्रतियोगितालाई आगामी दिनमा राष्ट्रियस्तर मै लैजाने योजना रहेको समेत आयोजक क्लबले जनाएको छ ।