काठमाडौं । पहिलोपटक एएफसी कपको प्रारम्भिक छनौटतर्फ दोस्रो चरणसम्म पुग्न सफल भएको त्रिभुवन आर्मी फुटबल क्लबको एएफसीको कप यात्रा दोस्रो चरणबाटै समाप्त भएको छ ।
बुधबार गोवामा सम्पन्न खेलमा आर्मीले घरेलु टोली बैंगलुरु एफसीसँग ०–५ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिन बाध्य भएको हो । गोवा स्थित जिएमसी एथलेटिक स्टेडियममा बैंगलुरुलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको आर्मीले दोस्रो हाफमा भने पाँच गोल खान पुगेको थियो ।
बैंगलुरुको जितमा राहुल भेके र क्लिटन सिल्वाले दुई–दुई गोल गरे । थप एक गोल भने कप्तान सुनिल क्षेत्रीको नाममा रह्यो । यो जितसँगै बैंगलुरु प्ले अफ राउण्डमा प्रवेश गर्न समेत सफल भएको छ । बैंगलुरुले अब साउथ एसियन जोनतर्फको प्ले अफमा अवाहानी ढाका र क्लब इगल्सबीचको विजेतासग खेल्नेछ ।
स्मरण रहोस, आर्मीले दशरथ रंगशालामा हालै सम्पन्न प्रारम्भिक छनौटतर्फको पहिलो चरणको खेलमा श्रीलंका पुलिस एससीलाई ५–१ ले हराउँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो । तर आर्मीले बुधबार सोही प्रदर्शनलाई बैंगलुरु विरुद्ध भने निरन्तरता दिन सकेन ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै