News डुरान्ड कपमा आर्मीको अन्तिम खेल आज
गोलनेपाल

काठमाडौं । भारतमा जारी प्रतिष्ठित १३४औं डुरान्ड कप फुटबल प्रतियोगितामा सहभागिता जनाईरहेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले समूह चरणको आफ्नो अन्तिम खेल इण्डियन आर्मीसँग खेल्दैछ ।

जमशेदपुर स्थित टाटा स्पोर्टस कम्प्लेक्समा हुने समूह सी तर्फको यो खेल नेपाली समयअनुसार ४ः१५ बजेदेखि शुरु हुनेछ । जुन खेल आर्मीका लागि समूह चरणको अन्तिम मात्र नभई निर्णायक पनि हुनेछ ।

आर्मीले यो खेल जित्न सके समूह सी बाट उत्कृष्ट दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा प्रवेश गर्ने आफ्नो झिनो सम्भावनालाई कायम राख्नेछ । हाल २ खेलबाट १ अंक जोडेको त्रिभुवन आर्मी समूह सी को तेस्रो स्थानमा छ । समान १ अंक जोडेको लदाख एफसी दोस्रो स्थानमा रहँदा इण्डियन आर्मी अंकविहीन रुपमा पुछारमा छ ।

उता दुई खेलबाट दुई जितसहित ६ अंकका साथ शिर्ष स्थानमा रहेको घरेलु टोली जमशेदपुर एफसीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना निश्चित भईसकेको छ । जमशेदपुरले समुह चरणको आफ्नो अन्तिम खेल ८ अगस्तका दिन लदाखसँग खेल्ने कार्यक्रम छ ।

Post Comments