
काठमाडौं । अन्नपूर्ण आरसीटीले आफ्नो संग्राहलय निर्माण तथा त्यसको प्रचार प्रसारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गोलनेपालका वरिष्ठ खेलपत्रकार तथा बिबा मेडिया ग्रुपका सीईओ विक्रम थापालाई विशेष कार्यक्रमकाबीच सम्मान गरेको छ ।
बिबा मिडिया ग्रुपले आफू मातहत नेपाली फुटबलको अग्रणी सञ्चारमाध्यम मध्ये एक गोलनेपाल डटकम संचालन गर्दै आएको छ । त्यस अवसरमा संग्राहलयमा ऐतिहासिक पदक, शिल्ड र अन्य खेल सामग्री प्रदान गर्नेहरूलाई पनि सम्मान गरिएको थियो ।
सोही अवसरमा अन्नपूर्ण आरसीटीको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तर गरिएको छ । निर्वतमान अध्यक्ष सुरेशकाजी शाक्यले नव निर्वाचित अध्यक्ष राजेश श्रेष्ठलाई पदभार हस्तान्तरण गरेको हो । नयाँ कार्यसमितिले शाक्यलाई क्लबको प्रमुख संरक्षक पनि घोषणा गरेको छ । नयाँ कार्यसमितिमा कुमार राजभण्डारी, नरेन्द्रबहादुर श्रेष्ठ र रविन महर्जन उपाध्यक्ष, रजेन्द्रप्रसाद श्रेष्ठ सचिव, अशोक मानन्ध सह–सचिव तथा नरेश बैद्य कोषाध्यक्ष रहेका छन् ।
त्यस्तै सदस्यहरुमा चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर, रामचन्द्र श्रेष्ठ, बुद्धरतन महर्जन र सन्तोष तुलाधर छन् । यस्तै योगेशकुमार खड्गी पदेन सदस्य रहनेछन् । विक्रम संवत् १९८९ मा स्थापित अन्नपूर्ण आरसीटी नेपाली फुटबलकै सबैभन्दा सफल क्लबका रूपमा रहेको छ ।