महोत्तरी। महोत्तरीको बर्दिवास नगरपालिका–११, खयरमारास्थित सहिद स्मृति खेल मैदानमा खयरमारा युवा क्लबको आयोजनामा सञ्चालित प्रथम खयरमारा भेट्रान फुटबल प्रतियोगिता २०८३ को सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताको छैटौँ दिन सम्पन्न दुई सेमिफाइनल खेलसँगै शुभबिहानी भेट्रान र बेंगाडावर भेट्रानले फाइनलमा स्थान सुरक्षित गरेका छन्।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा शुभबिहानी भेट्रानले लहान भेट्रानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको निर्धारित समयको अन्तिमतिर शुभबिहानीका थिरबहादुर लिम्बूले जेबी राईको पासमा उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाए।
निर्णायक गोल गरेका शुभबिहानी भेट्रानका थिरबहादुर लिम्बू उक्त खेलको 'म्यान अफ द म्याच' घोषित भए। उनले नगद रु. १ हजारसहित मेडल प्राप्त गरे।
त्यस्तै, दोस्रो सेमिफाइनलमा बेंगाडावर भेट्रानले आयोजक खयरमारा भेट्रानलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको पहिलो मिनेटमै बेंगाडावरका सञ्जीव कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
खेलको दोस्रो हाफको ३८औँ मिनेटमा खयरमाराका सिकेन्द्र सिंहले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। तर, निर्धारित समयको ४६औँ मिनेटमा बेंगाडावरका गणेश विकले निर्णायक गोल गरेपछि बेंगाडावरले २–१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो।
टोलीको जितमा निर्णायक गोल गरेका बेंगाडावर भेट्रानका गणेश विक 'म्यान अफ द म्याच' घोषित भए। उनले नगद रु. १ हजारसहित मेडल प्राप्त गरे।
प्रतियोगिताको विजेताले नगद रु. ७० हजारसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ।
- शुभबिहानी भेट्रान महोत्तरीमा जारी प्रथम भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश
- देवबहादुर पाचेको निर्णायक गोलमा महोत्तरी भेट्रान सेमिफाइनलमा प्रवेश
- प्रथम भेट्रान फुटबल प्रतियोगिता: बेंगाडावर सेमिफाइनलमा र शुभबिहानी क्वाटरफाइनलमा
- बागमती भेट्रानको विजयी सुरुवात, लालबन्दीलाई पेनाल्टीमा हराउँदै क्वाटरफाइनलमा प्रवेश
- आयोजक जि.एम. स्पोर्टसलाई उपाधि