काठमाडौं। पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडीहरूको योगदानको सम्मान गर्दै उनीहरूको अनुभव, सीप र खेलप्रतिको लगावलाई जीवन्त राख्ने उद्देश्यले फुटबलर्स मिसन टुगेदरको आयोजनामा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता–२०८३ सञ्चालन हुने भएको छ। प्रतियोगिता २०८३ कात्तिक १० देखि २० गतेसम्म भक्तपुरको मध्यपुर थिमिस्थित मध्यपुर युथ एसोसिएसनको फुटबल मैदानमा आयोजना हुनेछ।
प्रतियोगिताको उद्घाटन खेल कात्तिक १० गते बिहान ९ बजे अभिषेक चर्च र हेटौँडाको विजय युथ क्लबबीच हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा नेपालका विभिन्न स्थानबाट २४ टोली सहभागी हुँदैछन्। प्रतियोगिताको खेल तालिका सार्वजनिक भइसकेको छ।
फुटबलको विकास, स्तरोन्नति तथा खेलका माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने लक्ष्यसहित फुटबलर्स मिसन टुगेदरले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। फुटबल खेलमा आफ्नो जीवनको महत्त्वपूर्ण समय राष्ट्रका लागि समर्पण गरेका खेलाडीहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूलाई पुनः खेलकुदमा सक्रिय रहन प्रोत्साहित गर्नुका साथै नयाँ पुस्तालाई फुटबलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
फुटबलमा लामो समय बिताएका पूर्वखेलाडीहरूको अनुभव र योगदानलाई सम्मान गर्दै उनीहरूबीच आपसी सद्भाव, भाइचारा र खेलभावना अभिवृद्धि गर्नु पनि प्रतियोगिताको महत्त्वपूर्ण उद्देश्य रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक नागार्जुन नगरपालिका रहेको छ भने मध्यपुर थिमि नगरपालिका र ललितपुर महानगरपालिकाको समेत सहयोग रहेको छ। त्यस्तै, केसी ग्रुप, कार्की ब्याङ्क्वेट, योयो मम, चिन्डिज सेक्युरिटिज, पोन्ट्स स्पोर्ट्स, सनराईज फर्निचर प्रालि, स्पार्क होम हेल्थ हस्पिटल, ब्लुक्रस हस्पिटल तथा नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको सहकार्य रहेको छ।
प्रतियोगितालाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्न विभिन्न उपसमिति गठन गरिएको छ। फुटबलर्स मिसन टुगेदरका अध्यक्ष भिक्टर जबराको अध्यक्षतामा मूल समिति गठन गरिएको छ। रेफ्री समितिको संयोजकमा विराट जङ्ग शाही, अनुशासन समितिको संयोजकमा विज्ञानराज शर्मा, खेलाडी छनोट समितिको संयोजकमा उपेन्द्रमान सिंह तथा म्याच कमिस्नर समितिको संयोजकमा महेश विष्ट रहेका छन्।
खेल तालिकाअनुसार कात्तिक १० देखि १५ गतेसम्म लिग चरणका खेल सञ्चालन हुनेछन्। कात्तिक १६ गते क्वार्टरफाइनल, कात्तिक १८ गते सेमिफाइनल र कात्तिक २० गते फाइनल खेल हुनेछ।