ANFA
खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण

काठमाडौँ । खेल पत्रकार हिमेशरत्न वज्राचार्यले लेख्नुभएको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक भएको छ । नेपाली फुटबलको इतिहास समेटिएको सो पुस्तक आइतबार नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरे ।
शाक्य सन् १९८४ र १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दा टिमका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । नेपाली फुटबलको सुरुआती समयसहित नेपालले सागमा दुई पटक स्वर्ण पदक जित्दाको इतिहासका विषय समावेश गरिएको छ ।
नेपाली फुटबलको इतिहासमा नेपालले जितेको त्यो दुई महत्वपूर्ण उपाधि हुन् । नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो लामो भएपनि अहिलेसम्म फुटबलको इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन । त्यसैले नेपाली फुटबलको इतिहासमा लेखिएको यो पहिलो पुस्तक समेत हो ।
फुटबललाई आफ्नो पहिलो प्रेम मान्ने लेखक वज्राचार्यले यो पुस्तक प्रकासित गर्नु आफ्नो सपना भएको बताए । बुकहिलले प्रकाशन गरेको सो पुस्तक सार्वजनिक कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले यो पुस्तक पढेपछि पहिले र अहिलेको फुटबलको अन्तर बुझेको बताए । "पुस्तक पढेपछि नेपाली फुटबलको धेरै कुरा आफूलाई थाहा नभएको महुसस भयो । त्यसैले पनि नयाँ, पुराना खेलाडी मात्र होइन सबैले फुटबलको इतिहास बुझ्न स्वर्णकथा नेपाली फुटबलको पढ्नै पर्छ", राईले भने ।
नेपाली खेलकुदकी गोल्डेन गर्ल ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले खेलकदमा अध्ययन र साहित्य पनि चाहिन्छ र यस पुस्तकले यसको सुरुआत गरेको बताइन् । उनले सय वर्षअघिदेखिको इतिहासलाई सङग्रह गरेर पुस्तकको आकार दिने हिमेशरत्न वज्राचार्य खेलसाहित्यको रत्न नै रहेको बताईन् । यसैगरी सन्तोषीले यस पुस्तककै प्रेरणा लिएर भविष्यमा आफूले आफ्नो खेल संस्करण लेख्ने बताइन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अध्यक्ष निरञ्जन अधिकारीले नेपाल खेलकुदमा लेखेका पुस्तक खासै नभेटिको अवस्थामा फुटबल मन पराउनेहरुका लागि यो दस्तावेजसहितको सुन्दर उपहार भएको बताए । एनएसजेएफका पूर्व अध्यक्ष अजय फुयालले नेपाललाई फुटबलले खुशी बनाउने कालखण्डलाई जीवन्त राख्ने काम गरेकोमा लेखक वज्राचार्यलाई धन्यवाद दिए । वरिष्ठ पत्रकार युवराज घिमिरेले "खेलकुदले पनि कुनै पनि देशको समृद्धि देखाउँछ र यस्ता पुस्तक पनि त्यसका सहायक हुन्", भन्दै प्रतिक्रिया दिए । यसैगरी प्रकासक भूपेन्द्र खड्काले फुटबलको पहिलो पुस्तकमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।
Post Comments