ANFA सुनवल ८ लाई आठौं सुनवल मेयर कपको उपाधि
सुरज राना मगर

सुनवल । कठिन जितका साथ यहाँ सम्पन्न आठौं सुनवल मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सुनवल ८ ले जितेको छ ।

मंगलबार सम्पन्न फाइनलमा सुनवल ८ ले सुनवल ३ माथि सडन डेथमा जित निकाल्दै उपाधि जित्न सफल भएको हो । सुनवल–७ स्थित गणेश बस्ती खेलमैदानमा भएको फाइनलमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनुपरेको थियो ।

टाईब्रेकरबाट पनि नतिजा निस्किन नसक्दा खेल सडन डेथतर्फ धकेलिएको थियो । जसमा सुनवल ८ ले सुनवल ३ माथि ६–५ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

विजेता बनेको सुनवल ८ ले उपाधिसहित नगद १ लाख ५५ हजार हात पार्दा उपविजेता सुनवल ३ ले ९० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोली सुनवल १३ र सुनवल ७ ले जनही नगद २५–२५ हजार हात पारे ।

त्यस्तै सुनवल ८ का सोनम तामाङ फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उत्कृष्ट गोलरक्षक पनि सुनवल ८ का सन्देश राना बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार सुनवल ३ का तनिष गुरुङ्गले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने सुनवल ८ का मुल्लाह घोषित भए । सुनवल ७ ले फेयर प्ले पुरस्कार हात पार्यो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्याल, उपप्रमुख सुर्य प्रसाद दुवे, आठौं सुनवल मेयर कपका खेल संयोजक प्रकाश बारघरे लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments